‘एभेन्जर्स: डुम्सडे’ मा देखिए थोर

फिल्म । मार्भल स्टुडियोजले प्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ को पहिलो टिजर सार्वजनिक गरेको छ । केही समय अगाडि अनलाइनमा लिक भएको ट्रेलरलाई मार्भलले अफिसियल रुपमा दर्शक समक्ष ल्याएको छ । सार्वजनिक दोस्रो टिजरमा थोर (क्रिस हेम्सवर्थ) को एउटा हृदयविदारक भनाइ छ । जसमा उनले आफ्ना पिता ओडिनसँग प्रार्थना गर्दै भनेका छन्, ‘मलाई कुनै राज्य, ताज वा घमण्ड चाहिँदैन । म जीवनका लागि योग्य त छैन, तर मलाई मेरो ‘लभ’ लाई फेरि एकपटक हेर्न पाउने समयसम्म जीवित राखिदिनुहोस् ।’ थोरले यहाँ ‘लभ एन्ड थन्डर’ फिल्ममा देखिएकी आफ्नी धर्मपुत्री ‘लभ’ को कुरा गरिरहेका हुनसक्छन् ।

यो फिल्मको प्लट सुपरहिरोका सन्तानहरूको अपहरणको वरिपरि घुम्ने संकेत मिलेको छ । डाक्टर डुमले सम्भवतः स्टिभ रोजर्सको शिशु, थोरकी छोरी र फ्र्याङ्कलिन रिचर्ड्सलाई अपहरण गर्ने योजना बनाएको देखिन्छ । सम्भव यो फिल्म मल्टीभर्सको कन्सेप्टमा तयार गरिएको छ । जहाँ डाक्टर डुम अन्य ब्रह्माण्डबाट आउने छन्, उनीसँगै डाक्टर स्ट्रेन्ज लगायतका पात्र पनि आउने देखिएको छ ।

रुसो ब्रदर्सले निर्देशन गर्न लागेको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो हुने बताइएको छ । रोबर्ट डाउनी जुनियर यसमा ‘आइरन म्यान’को भूमिकापछि अब उनी मुख्य भिलेन ‘डाक्टर डुम’ को रूपमा देखिनेछन् । फक्स स्टुडियो डिज्नीमा गाभिएपछि पहिलोपटक प्याट्रिक स्टिवर्ट, इयान म्याकलेन र जेम्स मार्सडेन जस्ता कलाकारहरू ‘एक्स-म्यान’ पात्रका रूपमा देखिने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्