आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ : दीपक

फिल्म । निर्माता तथा अभिनेता दीपकराज गिरीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सांकेतिक स्टाटस पोस्ट गर्दै आफ्नो आउँदो फिल्मको कथावस्तु र चरित्रबारे संकेत दिएका छन् । गिरीले स्टाटसमा लेखेका छन्, ‘आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ ।’ उक्त अभिव्यक्तिमार्फत उनले आफू अभिनय गर्न लागेको नयाँ फिल्मको कथालाई इङ्गित गरेका हुन् ।

उनले समयक्रममा आफूलाई कहिले कांग्रेस, कहिले एमाले, राजावादी वा माओवादी भनेर चिनाउने गरिएको उल्लेख गर्दै पछिल्लो समय धेरैले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोड्ने गरेको अनुभवसमेत साझा गरेका छन् । गिरीका अनुसार फागुन महिनाबाट छायांकन सुरु हुन लागेको फिल्ममा उनले अन्यायविरुद्ध निर्वाचनमा होमिएको एक उम्मेदवारको भूमिकामा अभिनय गर्दैछन् । ‘म उठ्ने त्यसैमा हो,’ भन्दै उनले आफ्नो चरित्र चित्रणबारे संकेत गरेका छन् ।

यद्यपि, तत्काल सक्रिय राजनीतिमा प्रवेश गर्ने सम्भावनालाई अस्वीकार गर्दै गिरीले आफू फिल्म क्षेत्रमै निरन्तर रहने स्पष्ट पारेका छन् । ‘मैले जानेको पनि यही नै हो। जे जान्दछु, गर्ने पनि त्यही नै हो,’ उनले लेखेका छन् । उनले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा भने परिवर्तनकारी शक्तिलाई समर्थन गर्ने पनि उल्लेख गरेका छन् । ‘जहाँसम्म समर्थनको कुरा छ, यो पल्ट मेरो समर्थन परिवर्तनकारी पक्षतिर नै रहनेछ,’ उनको भनाइ छ । यसैबीच, केही समययता दीपकराज गिरीले चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला बनाउने चर्चा पनि चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्