फिल्म । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण कम हुन् थालेपछि फिल्म रिलिज हुने चर्चा पनि बढ्दो छ । कोरोना भाइरसकै कारण रिलिज रोकिएका फिल्महरु छिटो भन्दा छिटो दर्शक समक्ष पुग्न चाहन्छन । फिल्मको विषयवस्तुमा ओटीटीमा आइरहेका कन्टेनले असर गर्ने डरसँगै कथा बाहिरिने डरले गर्दा पनि रिलिज रोकिएका फिल्महरु सक्दो छिटो दर्शक समक्ष पुग्न आतुर छन् ।
कोरोना भाइरसको महामारीका कारण रिलिज रोकिएको फिल्ममा अगाडी आउने नाममा छ , आरआरआर र राधेश्याम । साउथ इन्डियन यी दुइ फिल्म नै बिग बजेटका फिल्म हुन् । यिनको लागत ४ सय करोड बढी छ । यसैले गर्दा पनि यी दुइ फिल्म रिलिजको लागि तयार छन् । यसैबीच आरआरआरले मार्च २५ मा रिलिज हुने घोषणा गरेसँगै राधेश्यामले पनि रिलिज डेट घोषणा गरेको छ । फिल्म मार्च ११ मा दर्शक समक्ष पुग्नेछ । मार्च १८ र अप्रिल २८ मध्ये जुनै डेटमा आउन तयार रहेको फिल्मले मार्चमै आउने निर्णय गरेको हो ।
भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु हुनु अगाडी राम्रो प्रचारप्रसार गरिसकेको हुँदा पनि निर्माण टीम फिल्मलाई सक्दो चाडो दर्शक समक्ष पुर्याउन चाहन्छन । बाहुबली मार्फत भारतीय स्टार बनेका प्रभास अभिनित फिल्म ‘राधेश्याम’ मा उनको को-स्टार छिन् पुजा हेगड़े । लभ स्टोरी देखाइने फिल्ममा भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिनेछ । फिल्मलाई ४ सय करोडको हाराहारीमा निर्माण गरिएको छ । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।











