फिल्म । अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म ‘तू मेरी मै तेरा मै तेरा तू मेरी’ बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ । क्रिसमसको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शनमा आएको उक्त फिल्मले अपेक्षित कमाइ गर्न सकेको छैन । रोमान्टिक कमेडी विधामा बनेको फिल्मप्रति दर्शकको प्रतिक्रिया प्रारम्भिक दिनदेखि नै औसत रहेकाले यसको असर बक्स अफिसमा स्पष्ट देखिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा ८ करोड ५० लाख रुपैयाँ कमाइ गरेको थियो । दोस्रो दिन शुक्रबार फिल्मको आम्दानी घट्दै करिब ५ करोड ५० लाख रुपैयाँमा सीमित रह्यो भने शनिबार करिब ६ करोड रुपैयाँ कमाइ गरेको छ । यससँगै भारतमा फिल्मको तीन दिनको कुल कमाइ करिब २० करोड रुपैयाँ पुगेको छ ।
विश्लेषकहरूका अनुसार कमजोर ‘वर्ड अफ माउथ’ र अन्य ठूला फिल्मसँगको कडा प्रतिस्पर्धाका कारण ‘तू मेरी मै तेरा मै तेरा तू मेरी’ ले बक्स अफिसमा अपेक्षित गति लिन सकेको छैन । समीर विद्वांस निर्देशनमा बनेको यस फिल्मका निर्माता करण जोहर हुन् ।











