फिल्म । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ बिहीबारदेखि डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत विश्वभर प्रसारणमा आएको छ । हलमा फिल्म हेर्न नपाएका दर्शकहरूका लागि ओटीटीमार्फत यो सुविधा उपलब्ध गराइएको हो ।
गत मङ्सिर २६ गतेदेखि हलमा प्रदर्शन भएको यस फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको थियो । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो फिल्म मुख्यतया अष्ट्रेलियामा रहेका नेपाली युवाहरूको सपना र त्यहाँको स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्न गरिने संघर्षको कथामा आधारित छ । फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामै गरिएको छ ।
फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा देखिनुभएको छ। त्यसैगरी, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीको फिल्ममा विशेष भूमिका रहेको छ ।
रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको यस फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गर्नुभएको छ । गणेश बुढाथोकीको लेखन र बन्दे प्रसादको सम्पादन रहेको यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।











