‘एभेन्जर्स: डुम्सडे’ : ट्रेलर लिक भएसँगै सामाजिक सञ्जालमा तरंग

फिल्म । डिज्नी र मार्भल स्टुडियोजका लागि पछिल्लो ७२ घण्टा निकै चुनौतीपूर्ण बनेको छ । कम्पनीले गोप्य राख्न खोजेका दुई प्रतीक्षित फिल्महरू ‘एभेन्जर्स: डुम्सडे’ र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ का टिजर ट्रेलरहरू अनलाइनमा लिक भएका छन् । एउटा निजी स्क्रिनिङ साइटबाट लिक भएका यी ट्रेलरहरूले सामाजिक सञ्जालमा ठूलो चर्चा र बहस सिर्जना गरेका छन् ।

‘एभेन्जर्स: डुम्सडे’ को लिक भएको टिजरमा थोर (क्रिस हेम्सवर्थ) को एउटा हृदयविदारक अडियो सार्वजनिक भएको छ । जसमा उनले आफ्ना पिता ओडिनसँग प्रार्थना गर्दै भनेका छन्, ‘मलाई कुनै राज्य, ताज वा घमण्ड चाहिँदैन । म जीवनका लागि योग्य त छैन, तर मलाई मेरो ‘लभ’ लाई फेरि एकपटक हेर्न पाउने समयसम्म जीवित राखिदिनुहोस् ।’ थोरले यहाँ ‘लभ एन्ड थन्डर’ फिल्ममा देखिएकी आफ्नी धर्मपुत्री ‘लभ’ को कुरा गरिरहेका हुनसक्छन् ।

लिक भएका विभिन्न क्लिपहरूका आधारमा यो फिल्मको प्लट सुपरहिरोका सन्तानहरूको अपहरणको वरिपरि घुम्ने संकेत मिलेको छ । डाक्टर डुमले सम्भवतः स्टिभ रोजर्सको शिशु, थोरकी छोरी र फ्र्याङ्कलिन रिचर्ड्सलाई अपहरण गर्ने योजना बनाएको देखिन्छ । यसैबीच, ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ को ट्रेलर पनि लिक भएको छ । यद्यपि यो ट्रेलर पूर्ण रूपमा तयार भइनसकेको अवस्थामा देखिएको छ । यसअघि पनि ‘डेयरडेभिल: बर्न अगेन’ र ‘थन्डरबोल्ट्स’ का फुटेजहरू लिक भएका थिए, तर मार्भलले ती दृश्यहरूलाई आधिकारिक रूपमा तुरुन्तै सार्वजनिक गरेको थिएन ।

जताततै लिक भइरहेकाले डिज्नीले अब यी फिल्मका उच्च गुणस्तरका आधिकारिक ट्रेलरहरू सार्वजनिक गर्नुपर्ने माग फ्यानहरूले गरिरहेका छन् । तर, लिक गर्नेहरूलाई प्रोत्साहन नमिलोस् भनेर मार्भलले अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

पुराना सुपरहिरोहरूको पुनरागमन

मार्भल सिनेम्याटिक युनिभर्सको प्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ को ट्रेलर लिक भएसँगै हलिउडमा ठूलो तरंग पैदा भएको छ । यस लिकले फ्यानहरूका प्रिय अभिनेता क्रिस इभान्स पुनः ‘स्टिभ रोजर्स’ को भूमिकामा फर्किने पक्का गरेको छ ।

पछिल्लो ७२ घण्टामा ‘एभेन्जर्स: डुम्सडे’ र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ का गोप्य ट्रेलरहरू अनलाइनमा बाहिरिएका हुन् । लिक भएको भिडियोमा एक अज्ञात पात्र मोटरसाइकल चढेर घर फर्किएको देखिन्छ । घरभित्र छिरेपछि उनले आफ्नो पुरानो सुपरहिरो कस्ट्युम उठाउँछन्, जहाँ उनी ‘स्टिभ रोजर्स’ (क्रिस इभान्स) भएको खुलासा हुन्छ । भिडियोको क्याप्सनमा स्पष्ट लेखिएको छ, ‘स्टिभ रोजर्स एभेन्जर्स: डुम्सडेमा फर्किनेछन् ।’

रोचक कुरा के छ भने, ट्रेलरमा स्टिभ रोजर्स पेग्गी कार्टर (हेली एतवेल) सँग आफ्नो सानो बच्चालाई काखमा लिइरहेको अवस्थामा देखिन्छन् । यसले उनी किन फेरि युद्धमा होमिन चाहँदैनन् भन्ने संकेत गर्छ । सन् २०१९ को ‘एभेन्जर्स: एन्डगेम’ पछि इभान्सले यस फ्रेन्चाइजबाट बिदा लिएका थिए ।

‘स्टिभ रोजर्स’ को पुनरागमनको खबरले फ्यानहरूमाझ केही विवाद पनि जन्माएको छ। हाल साम विल्सन (एन्थोनी म्याकी) ले ‘क्याप्टेन अमेरिका’ को जिम्मेवारी सम्हालिरहेका छन् । कतिपय फ्यानहरूले ‘स्टिभ’ को फिर्तीले सामको भूमिकालाई ओझेलमा पार्ने आशंका गरेका छन् । यद्यपि, लिक भएको ट्रेलरमा स्टिभलाई ‘क्याप्टेन अमेरिका’ भनिएको छैन, जसको अर्थ साम विल्सन नै वर्तमान ‘क्याप्टेन अमेरिका’ रहनेछन् ।

रुसो ब्रदर्सले निर्देशन गर्न लागेको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो हुने बताइएको छ । रोबर्ट डाउनी जुनियर यसमा ‘आइरन म्यान’को भूमिकापछि अब उनी मुख्य भिलेन ‘डाक्टर डुम’ को रूपमा देखिनेछन् । फक्स स्टुडियो डिज्नीमा गाभिएपछि पहिलोपटक प्याट्रिक स्टिवर्ट, इयान म्याकलेन र जेम्स मार्सडेन जस्ता कलाकारहरू ‘एक्स-म्यान’ पात्रका रूपमा देखिने सम्भावना छ । यो टिजर फिल्म ‘अवतार: फायर एन्ड एश’ सँगै हलहरूमा प्रदर्शन गर्ने योजना थियो, तर त्योभन्दा पहिल्यै इन्टरनेटमा लिक भयो ।

कमेन्ट गर्नुहोस्