फिल्म । आउँदो जेठ १५ मा प्रदर्शन हुने फिल्म ‘महाभोज’ दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा यसका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।
दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ । दुवै पोस्टरहरू रोयल भीमसेनले डिजाइन गरेका हुन् ।
फिल्मका निर्देशक दिनेश राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मङ्गलवार टिजर सार्वजनिक गरिने जानकारी दिएका छन् । निर्देशक राउतका अनुसार ‘महाभोज’ मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो । उनले भने,‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।’
‘महाभोज’ सामाजिक यथार्थमा आधारित फिल्म हो, जसमा नेपाली समाजको वर्ग सङ्घर्षलाई प्रस्तुत गरिएको छ, जसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यनका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ ।
‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो भने यसका निर्माता हिमाल कडरिया हुन् । फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । सामाजिक यथार्थमा आधारित, बलियो स्टार कास्ट, सशक्त निर्देशन र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने ‘महाभोज’ दर्शकमाझ गहिरो प्रभाव छोड्ने अपेक्षा गरिएको छ ।