‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास, के पायो सर्टिफिकेट ?

फिल्म । पौष ४ गते अर्थात् आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब फिल्म सबै उमेर समूहका दर्शकले सहजै हेर्न पाउने भएका छन् ।

२ घण्टा १९ मिनेट लामो फिल्मले मनोरञ्जनका साथै गहिरो सन्देश दिन सफल भएको बताइएको छ । हालै नेपालमा घटेका वास्तविक घटनाको झल्को दिने कथावस्तुलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको प्रतिक्रिया पाएको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । फिल्ममा समावेश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको गीत ‘आम नेपाली बुवा’ ले दर्शकमाझ उच्च चर्चा बटुलेको छ । सोमबार सार्वजनिक भएको उक्त गीतले फिल्मप्रति उत्साह बढाएको छ, जसको सकारात्मक प्रभाव बक्सअफिसमा पनि देखिने अपेक्षा निर्माण टिमको छ ।

फिल्म सेन्सर पास भएसँगै अग्रिम टिकट बुकिङ पनि खुला गरिएको छ । यो समाचार तयार पार्दासम्म देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाजलगायत हलहरूले अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । बुकिङ खुल्ने प्रक्रिया जारी रहेकाले बिहीबार साँझसम्म अन्तिम शो संख्या सार्वजनिक हुने जनाइएको छ।

नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन्। फिल्मको छायांकनका लागि उप्रेती अमेरिका बाट नेपाल फर्किएका थिए। फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय रहेको छ।

यसै फिल्ममार्फत कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्। बाल कलाकार दिप्सन चिलवालको पनि अभिनय रहेको निर्माण कम्पनीले जनाएको छ। फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।

निर्देशक अर्जुन घिमिरे स्वयंको कथामा बनेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। छायांकन बुद्ध थापाले गरेका छन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता छन् भने योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

कमेन्ट गर्नुहोस्