५१औँ दिनमा ‘जेरी अन टप’

फिल्म । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गर्दैछ । अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्मले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज, एफक्युबसहितका हलहरूमा ५१ दिन पूरा गरेको हो ।

गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ५१ दिन पूरा गरेको अवसरमा निर्माण टिमले शनिबार दिउँसो एफक्युब हलमा एक कार्यक्रम गरी खुसी साट्ने तयारी गरेको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेका अनुसार अभिनेता अनमोल आगामी फिल्मको छायांकनमा व्यस्त भएकाले ठूलो सार्वजनिक कार्यक्रम भने नगर्ने योजना छ।

प्रदर्शनको सुरुआतदेखि नै राम्रो व्यापार गरेको जेरी अन टप ले उत्कृष्ट ‘वर्ड अफ माउथ’ का कारण बक्स अफिसमा निरन्तर उकालो यात्रा कायम राखेको थियो । सुयोग गुरुङ निर्देशित यस फिल्मले गत शनिबारसम्म १२ करोड २३ लाख ५२ हजार रुपैयाँभन्दा बढी ग्रस कलेक्शन गरेको छ ।

यससँगै यो फिल्म अनमोल केसीको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । त्यस्तै, यो वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म पनि हो । अनन्या फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारले पनि मुख्य भूमिका निभाएका छन् ।

कमेन्ट गर्नुहोस्