फिल्म । प्रवासमा रहेर गीतसङ्गीतमा सक्रिय गायिका प्रीति घिमिरेले फिल्मका लागि गीतमा स्वर दिएकी छिन् । सिड्नीमा रहेर सङ्गीतमा सक्रिय प्रीतिले फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ मा स्वर दिएकी हुन् । सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरेइको उक्त गीतमा नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ । उनीहरूको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क छ ।
गीतमा भिम बीसीको संगीत, टेक बीसी रहेको छ भने भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की छन् ।
प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित यो फिल्ममा विदेशमा रहेका छोरा-छोरीको अवस्था तथा नेपालमा रहेका बुबा-आमाले उनीहरूप्रति गरेको अपेक्षा समेटिएको निर्देशक शोभित बस्नेतले बताए । फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । बन्दे प्रसादको सम्पादन रहेको यो फिल्मको लेखन गणेश बुढाथोकीले गरेका हुन् । छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने वितरणको जिम्मेवारी आर आर फिल्म्सले लिएको छ ।









