फिल्म । टेलीशृङ्खला अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव बटुलेका अभिनेता दीपक आचार्यले निर्देशनमा डेब्यु गरेको फिल्म ‘परान’ आजदेखि प्रदर्शन भएको छ । पारिवारिक विषयवस्तु र कथामा आधारित उक्त फिल्मको मूल आइडिया दीपकले आफ्नै परिवारबाट लिएका हुन् । कोरोना भाइरसले ग्रसित भएर अस्पतालको सैयामा रहँदा उनले फिल्मको बनाउने सोच बनाएका थिए ।
‘फिल्म बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिनँ भन्ने अवस्थामा आफ्ना भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई फिल्मकै शैलीमा पटकथा तयार गरिएको छ । मैले लेखेको कथालाई पटकथाकारले फिल्मको स्वरूप दिनुभयो’, निर्देशक आचार्यले भने ।
एउटा परिवारको कथामार्फत वर्तमान समाजलाई चित्रण गरेको उनले बताए । उनले बा र छोराको सम्बन्धको कथालाई ठूलो पर्दामा ल्याएका छन् । भविष्य बनाउने नाममा गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहदा सुखी भएन् पनि परिवारहरू खुसी नरहेको बताए ।
‘यो तपाइँ, हाम्रो घर र गाउँको कथा हो । यो कथासँग अहिले कोही अछुतो छैन, त्यसकारण पर्दामा देखिएका पात्रसँग सबैले रिलेट गर्नुहुन्छ’, निर्देशक आचार्यले भने । परिवार, सम्बन्ध र सङ्घर्षको कथामा आधारित फिल्ममा अभिनेता नीर शाह, अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायतले अभिनय गरेका छन् ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत दिएका छन् ।










