फिल्म । हास्य कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा तयार भएको फिल्म ‘परान’ आगामी कात्तिक १४ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा एक परिवारको कथालाई देखाइएको छ । फिल्मको सार्वजनिक ट्रेलर, टिजर र गीतसङ्गीतले दर्शकलाई आकर्षित गरिरहदा निर्देशक सापकोटाले फिल्मको विषयको उठान बारे बताएका छन् ।
फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले फिल्मको विषय आफ्नै परिवारबाट प्रेरित रहेको बताए । उनले भने,‘यो फिल्मको आइडिया मलाई मेरै परिवारबाट आएता पनि यहाँ रहेका कुनै नकुनै पात्रसँग दर्शक स्वत जोडिनु हुन्छ । यो पात्र, परिवेश र समाज हामी भन्दा टाढा छैन । त्यसकारण यो सबै नेपालीको कथा हो ।’
आगामी कात्तिक १४ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायतको अभिनय रहेको छ । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डि. गुरुङको सम्पादन र गगन थापा मगरको पृष्ठभूमि संगीत छ।
‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन बोकेको यो फिल्मको निर्माणमा नेपालका ठूला व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा एड्भर्टाइजिङ समूहले सहकार्य गरेका छन् । शेखर गोल्छा र रञ्जित आचार्य फिल्मका निर्माता हुन् ।











