साङ्गीतिक कार्यक्रमका लागि दुर्गेश अमेरिका प्रस्थान

सङ्गीत । गायक तथा स्टेज पर्फमर दुर्गेश थापा साङ्गीतिक प्रस्तुति दिनका लागि मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाका विभिन्न ११ सहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन उनी मङ्गलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका हुन् । दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (अक्टोबर १७) मा अस्टिन, टेक्सासबाट सुरु हुनेछ र नोभेम्बर २२ मा डल्लास, टेक्सासमा पुगेर सकिनेछ । यस अवधिमा उनले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका ११ फरक स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।

यो साङ्गीतिक भ्रमण आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे) र एकेबी कम्पनी एलएलसी (आशिष भडेल) द्वारा आयोजना गरिएको हो भने पिस एन्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ । दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा आयोजकले राखेको छ ।

आयोजकहरूमध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरू माझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन् । रोशनले यो टुरलाई एउटा साङ्गीतिक कार्यक्रम मात्र नभई फरक-फरक ठाउँमा रहेका नेपालीहरू जमघट हुने अवसर पनि भनेका छन् ।

कलाकार दुर्गेशले पनि पहिलोपटक अमेरिकाका विभिन्न सहरमा आफूले प्रस्तुति दिन पाउने कुराले खुसी लागेको बताएका छन् । साथै उनले दर्शकलाई आफूलाई सहज हुने स्थानका कार्यक्रममा उपस्थित भइदिनका लागि आग्रह गरेका छन् । दुर्गेशले आफ्नो पछिल्लो समयका चर्चित गीतहरू ‘दुश्मन हेरेको हेरेई’, ‘जाने भए जाम माया’ लगायत थुप्रै गीत सुनाउनेछन् । सोही अवसरमा गायिका मेलिना राईको पनि प्रस्तुति रहने बताइएको छ । नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्