फिल्म । नेपाली फिल्मका लागि यो वर्ष उपलब्धिमूलक मानिएको छ । वर्षको सुरुआतदेखि नै ‘बोक्सीको घर’ मार्फत सुरू भएको सफलताको शृङ्खला गत तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ सम्म आइपुग्दा ऐतिहासिक बन्यो । फिल्ममार्फत भइरहेको व्यापार अहिलेसम्म नै नेपाली फिल्म गरेको सर्वाधिक भएको छ । अघिल्ला वर्षको तुलनामा नेपाली फिल्मले गर्ने व्यापार र कुनै एक फिल्मले गर्ने व्यापार सर्वाधिक व्यापार गर्ने वर्ष विसं २०८१ नै बन्नेमा दुईमत छैन ।
विशेषत दसैँदेखि प्रदर्शन भएको अधिकाँस फिल्म सफल रहे । गत मङ्सिर ७ गते प्रदर्शन भएको ‘तेलभिसा’ ले प्रदर्शनको ५१ औँ दिन पार गर्दा स्वदेश र विदेशबाट लगानी सुरक्षित गरेको अनुमान गरिएको छ । यद्यपि त्यसपछि प्रदर्शनमा आएको फिल्मले दर्शकको साथ पाउन सकेको छैन । विदेशी फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्न सफल हुँदा नेपाली फिल्मलाई चिसोले असर गरेको छ । अर्थात् ‘तेल भिसा’ पछि प्रदर्शन भएका सम्पूर्ण फिल्म ‘फ्लप’ भएको छ ।
डायस्पोरा प्रदर्शन हुन नसकेको र स्वदेशमा समेत राम्रो व्यापार नगरेका कारण ‘बम बहादुर’,‘कार्साङ’ लगायतका फिल्म असफल बन्न पुगेको छ । कुनै समय राम्रो डेटमा पर्ने माघेसंक्रान्ति छेउछाउ फिल्मको भिड हुन्थ्यो । पुसकै अन्तिम साता प्रदर्शन भएको ‘लूट’,‘६ एकान ६’ लगायतको सफलता लुकेको छैन । तर, केहि वर्ष यता यो डेट नेपाली फिल्मका लागि लाभदायक मानिएको छैन ।
दयाहाङ राई जस्तो कलाकार हुँदा पनि फिल्मले राम्रो समीक्षा बटुल्न नसकेपछि ‘कार्साङ’ ले चिसिएको नेपाली फिल्मको बजारमा आफ्नो उपस्थिति देखाउन सकेन । यो असफलताकै शृङ्खलामा सामेल भयो । नेपाली फिल्म एकल रुपमा प्रदर्शन भएता पनि यसलाई हेर्न दर्शक हलसम्म आइपुगेनन् । फिल्मले माघेसंक्रान्तिमा समेत दर्शकसाथ पाउन नसक्नुले यो ‘असफलता’ प्रष्टरुपमा व्यक्त गरेको छ ।
त्यसो त सुरू भएको माघ महिना नेपाली फिल्मका लागि सजिलो भने छैन । प्रदर्शन घोषणा गरिएका फिल्मको आकर्षण नबढ्नुले बजार तात्ने सम्भावना बढेको छैन । माघ ११ मा प्रदर्शन हुने ‘एक्टर :टेकवान’ सहित ‘मम्मी’, ‘जुना : एक व्यथा’ ले हाइप निर्माणमा अझैँ मेहनत गर्नुपर्ने वितरक तथा प्रदर्शकको भनाइ छ ।