फिल्म । ‘फर्की फर्की’ प्रदर्शन भएको झन्डै १७ महिनापछि अभिनेता अनमोल केसी पर्दामा देखिदैछन् । सगरमाथा आरोहन र त्यसक्रममा हुने प्रेमलाई समेटिएको अनमोल अभिनित फिल्म ‘जेरी अन टप’ यही शुक्रबार (असोज ३१) बाट प्रदर्शनमा आउँदैछ । सार्वजनिक टिजर, ट्रेलर र प्रचार सामग्रीले सिनेम्याटिक फिल्म दिईरहेको उक्त फिल्ममा नेपालको सुन्दर दृश्य देख्न सकिन्छ ।
उक्त फिल्म प्रदर्शनको लागि तीन दिन समय बाँकी रहदा देशभरका मल्टिप्लेक्सले अग्रीम टिकट बिक्री तथा बुकिङ खुलाएका छन् । क्युएफएक्स, एफक्युब, विग मुभिज, आइएनआई लगायतका मल्टिप्लेक्सले फिल्मलाई शो दिदै टिकट बिक्री गरिरहेका छन् । फिल्म वितरण कम्पनि रीच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठका अनुसार बुधवार बेलुकीसम्म देशभरका सम्पूर्ण हलले शो उपलब्ध गराइसक्नेछन् ।
‘शो खुल्नेक्रम सुरु भएको छ, सुरुआती शो हेर्दा हाम्रो फिल्मलाई लिएर प्रदर्शक पनि उत्साहित भएको पाएका छौँ । प्राप्त शोमा दर्शक भरिन सुरू भएको छ, यो फिल्मले राम्रो सुरुआत गर्ने सङ्केत गरेको छ’, वितरक श्रेष्ठले भने ।
फिल्म ‘जेरीः अन टप’ अनमोल केसी, भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।










