फिल्म । नेपाली फिल्म उद्योगको पूर्वाधार विकासमा महत्वपूर्ण कदम चाल्दै सरकारले बनेपामा निर्माणाधीन अत्याधुनिक ‘सिनेपा: स्टुडियो’ का लागि ३ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । शुक्रवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच यो सम्झौता सम्पन्न भएको हो ।
‘सिनेपा: स्टुडियो’ नेपाली फिल्म उद्योगलाई प्राविधिक रूपमा सशक्त बनाउन, निर्माताहरूलाई एकीकृत सुविधा प्रदान गर्न र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन लक्षित परियोजना हो । यसमा फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स (VFX), कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सनका अत्याधुनिक सुविधाहरू उपलब्ध हुनेछन् ।
बोर्डका अध्यक्ष दिनेश डीसीले बनेपामा बन्न लागेको ‘सिनेपा: स्टुडियो’ नेपाली फिल्म उद्योगका लागि नयाँ युगको सुरुवात रहेको बताए । ‘यो स्टुडियो मात्र नभई हाम्रो फिल्म क्षेत्रको भविष्यमा लगानी हो।” यो स्टुडियो सम्पन्न भएपछि नेपाली फिल्मकर्मीले महँगो पोस्ट–प्रोडक्सनका लागि विदेश जानुपर्ने बाध्यता हट्नेछ। साथै, यसले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा समेत योगदान पुर्याउने अपेक्षा छ’, उनले भने ।
सम्झौता कार्यक्रममा मन्त्रालयका कर्मचारी, फिल्म विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गिरीश शर्मा उपस्थित थिए ।











