‘सिटामोल’ फिल्मले दर्शकको मन जित्यो

फिल्म । साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सिटामोल’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । शुक्रबार सुखद् सुरुवात गरेको यो फिल्मले शनिबार जैपूर्णिमाको दिन पनि देशभरका हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको माया पाएपछि फिल्मको निर्माण टिम, अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमालसहितका कलाकारहरू काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए ।

हलमा फिल्म हेरेर बाहिरिएका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले मन जितेको र अन्त्यमा भावुक बनाएको प्रतिक्रिया दिए । शुक्रबार एमाले सम्बद्ध विद्यार्थी संगठनका अध्यक्ष डा. सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशीसहितको टोलीले पनि फिल्म हेरेको थियो । उनीहरूले फिल्मले २०६२/६३ को सशस्त्र युद्धका घाइते योद्धा र कर्णाली प्रदेशका जनताले अझै पनि सिटामोलजस्ता आधारभूत औषधि नपाउने अवस्थालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको बताए ।

फिल्मले कर्णालीको यथार्थ चित्रण गरी राज्यको ध्यानाकर्षण गराएको उनीहरूको भनाइ छ । दर्शकको प्रतिक्रियाले कलाकार र निर्माण टिम उत्साहित छन् ।अभिनेता सौगात मल्लले भने, ‘दर्शक भेट्न हिँड्दा मैले पूरै फिल्म हेर्न पाएको छैन, तर सबैको प्रतिक्रियाले खुशी लागेको छ। दर्शकले मन पराएपछि हाम्रो मेहनत सार्थक भएको छ ।’

उनका अनुसार युवा दर्शक हलमा बढी देखिएका छन् । अभिनेत्री बेनिशा हमाल दर्शकको प्रतिक्रियाले भावुक छिन् । उनले भनिन्, ‘हिजो रातभरि सुत्न सकिनँ, दुई फिल्म एकैपटक प्रदर्शन हुँदा कस्तो प्रतिक्रिया आउला भन्ने डर थियो । दुवै फिल्मले राम्रो प्रतिक्रिया पाउँदा खुशी छु । सिटामोलको मर्मस्पर्शी कथाले दर्शकलाई रुवाएको प्रतिक्रियाले झनै आनन्द मिल्यो ।’

राज बहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

श्रीकृष्ण र जानुकाले यो फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका छन् । तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा बनेको यो फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्माता छन् ।

कमेन्ट गर्नुहोस्