फिल्म । नायक सुशील श्रेष्ठले फिल्म ‘आउट लः दफा २१९’का छायांकनका क्रम वास्तविक चोट लागेको जनाएका छन् । उनले फिल्मको एक्सन सिनमा वास्तविक रुपमै एक्सन गरेपछि कुटाइ खाएका कारण चोट लागेको बताएका हुन् । उनले केही तस्वीर र भिडिओ सार्वजनिक गर्दै यस बारे जानकरी दिएका छन् । मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको सुशीलले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुश गर्नेछन् ।’
उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए । साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले सम्झिएका छन् । ‘हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने’, उनले उल्लेख गरेका छन् ।
सुशीलले फिल्म नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् । विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । फिल्मले न्यायको पक्षमा आवाज उठाएको छ । जसलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ ।