१४ मौलिक तीज गीतको सामूहिक विमोचन

सङ्गीत । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा बिहीबार राष्ट्रिय नाचघर, जमलमा १४ मौलिक तीज गीतको सामूहिक विमोचन गरिएको छ। कार्यक्रममा १४ गीतका पोस्टर र भिडियो एकसाथ सार्वजनिक गरियो । विमोचित गीतहरूमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौं’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’, भीमकुमार ओझाको ‘नौगेडी’, कस्तुप पन्तको ‘पापी तीज भाग–२’, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको ‘ए आमा’, यामप्रसाद निउरेको ‘चोली फाटेको’, गोविन्द पौडेलको ‘माछा मासु केही खाँदिन’, मुना सुवेदी तिवारीको ‘मेरो त देशै माइती भयो’, ‘माया पार्दे को चाहिँदैन रानी हार’, मदन ढकालको ‘माइतीको दैलो’, विजय अनुरागीको ‘ए मैया’ र सन्जु न्यौपानेको ‘निलो आकाशैमा बादलु’ रहेका छन् ।

प्रमुख अतिथि सांसद सोविता गौतमले गीत-संगीतमा विकृति र विसंगति बढ्नु चिन्ताजनक भएको बताउँदै सर्जकहरूलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन् । ‘भ्यूजका लागि मात्र गीत बनाउने प्रवृत्ति दीर्घकालीन सोचले बदल्नुपर्छ । सर्जकहरू संवेदनशील भएर उत्तरदायी बने सेन्सर बोर्डको आवश्यकता कम हुन्छ’, उनले भनिन् ।

उनले विमोचित १४ गीतलाई बधाई दिइन्।कार्यक्रममा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनमा योगदान पुर्‍याएबापत ‘मौलिक गायन सम्मान’ प्रदान गरियो । सम्मान ग्रहण गर्दै न्यौपानेले मौलिकता कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘समयसँगै परिवर्तन आवश्यक छ, तर लोक र मौलिकताको आत्मा बदल्नुहुँदैन’, उनले भनिन् । गायक राजु परियारले सर्जकहरूले लोकरसलाई बिर्सन नहुनेमा जोड दिए ।

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले अश्लीलताभन्दा मौलिकतामा ध्यान दिन र मिडियाले पनि विकृत गीतलाई प्रचार नगर्न आग्रह गरे । गायक बद्री पंगेनी, गायिका शर्मिला गुरुङ र मन्जु थापाले पनि सर्जकहरूले मौलिकतामा जोड दिनुपर्ने धारणा राखे । संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले मौलिक गीत निर्माण गर्ने कलाकारलाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको बताए ।

कमेन्ट गर्नुहोस्