‘अभिमन्यु: च्याप्टर १’ को दुई पोस्टरमा के छ ?

फिल्म । नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने फिल्म ‘अभिमन्यु: च्याप्टर १’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले यी पोस्टरमार्फत फिल्मको कथावस्तु र पात्रहरूको भावनात्मक अवस्थालाई संकेत गरेको छ । पहिलो पोस्टरमा फिल्मका मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । किरणबाहेक सबै कलाकार तनावग्रस्त देखिन्छन् ।

दोस्रो पोस्टरमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देबा मन्दिरमा आरती सल्काउँदै खुसी मुद्रामा देखिन्छन् । उनीहरूको गेटअपले नवविवाहित जोडीको झल्को दिन्छ । यी पोस्टरले पात्रहरूको सम्बन्ध र कथाको सस्पेन्सलाई थोरै खुलाउँदै दर्शकमा कौतुहलता जगाउने प्रयास गरेको छ।फिल्मको कथा र रिलिज मिति ‘अभिमन्यु: च्याप्टर १’ पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यसबाट उम्कने संघर्षको कथा बोकेको फिल्म हो ।

यो फिल्म भदौ २७ मा रिलिज हुँदैछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२, २०२५) मा विश्वव्यापी रिलिज हुने निर्माता विनोद पौडेलले बताएका छन् ।फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्म सुशान्त गौतमको डेब्यू निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक र शरद महतो डिओपीका रूपमा छन् ।

कमेन्ट गर्नुहोस्