धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुँदै

सङ्गीत । श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुँदैछ । हश क्रिएशन्स, दृश्य: सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेको संयुक्त आयोजनामा हुने यो कन्सर्ट दिउँसो ३ बजेदेखि सुरु हुनेछ।कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

साथै, भ्वाइस अफ नेपालका चर्चित गायक सार्थक लामा र प्रमेश राईले पनि मञ्च तताउनेछन् । धरानका स्थानीय ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस र दि एलाइज ब्यान्डको प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।आयोजक आकाश रावलका अनुसार यो कन्सर्ट अघिल्ला कार्यक्रमहरूभन्दा फरक र विशेष हुनेछ । भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको, सुरक्षित र व्यवस्थित कार्यक्रमका लागि सबै तयारी पूरा गरिएको उनले बताए ।

धरानको सांगीतिक क्षेत्रमा ठूलो अपेक्षा बोकेको यो कन्सर्टमा स्थानीयसहित आसपासका शहरहरूबाट समेत दर्शकको बाक्लो उपस्थिति हुने अनुमान छ । ‘त्रिगुट म्युजिकल नाइट’ संगीतप्रेमीका लागि अविस्मरणीय अनुभव बन्ने आयोजकको विश्वास छ ।

कमेन्ट गर्नुहोस्