कस्तो छ ‘सितारे जमीन पर’ को कमाई ?

फिल्म । अभिनेता आमिर खानको कमेडी-ड्रामा फिल्म ‘सितारे जमीन पर’ ले घरेलु बक्स अफिसमा आफ्नो तेस्रो हप्तासम्ममा राम्रो कमाई गर्दै कुल नेट कलेक्सन १ सय ५४ करोड रुपैयाँ नाघेको छ । यससँगै, यो हिन्दी भाषामा १ सय ५० करोड रुपैयाँको आँकडा पार गर्ने ६५औँ फिल्म बनेको छ ।

आर.एस. प्रसन्ना निर्देशित यो फिल्मले तेस्रो हप्तामा करिब १९ करोड रुपैयाँ कमाएको छ । यो कमाइ दोस्रो हप्ताको तुलनामा झन्डै ६० प्रतिशतले कम हो । जबकि, फिल्मको दोस्रो हप्ताको कमाइमा पहिलो हप्ताको तुलनामा ४७.६९ प्रतिशतले मात्र गिरावट आएको थियो । यो तथ्याङ्कले दर्शकको रुचि बिस्तारै कम हुँदै गएको देखाउँछ ।

तीन हप्ताको प्रदर्शनपछि, फिल्मले हिन्दीमा १ सय ५० करोडको नेट क्लबमा रहेका ‘तनु वेड्स मनु रिटर्न्स’ (१५०.७१ करोड), ‘ओएमजी २’ (१५१.१६ करोड), ‘सालारः सिज फायर – पार्ट १’ (१५२.६५ करोड) र ‘छिछोरे’ (१५० करोडभन्दा माथि) जस्ता पाँच फिल्मको लाइफटाइम कलेक्सनलाई पछाडि पारेको छ ।

फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। यसले तीन हप्तामा अनुमानित ५४ करोड रुपैयाँ कमाएको छ । विश्वव्यापी रूपमा भने ‘सितारे जमीन पर’ ले लगभग २ सय ३८ करोड रुपैयाँ कमाइसकेको छ ।

कमेन्ट गर्नुहोस्