अनलाइन सट्टेबाजी एपको प्रचार गरेको आरोपमा २९ भारतीय सेलिब्रेटीविरुद्ध मुद्दा

फिल्म । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले अवैध अनलाइन सट्टेबाजी एपको प्रचार गरेको आरोपमा २९ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको छ । हैदराबाद प्रहरीले दर्ता गरेको एफआईआरका आधारमा ईडीले यो कारबाही अघि बढाएको हो ।

प्रहरीको एफआईआरमा दक्षिण भारतीय फिल्मका अभिनेता विजय देवरकोंडा, राणा दग्गुबाती, र प्रकाश राज लगायतका नाम समावेश छन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार गत मार्चमा हैदराबादको मियापुर प्रहरी चौकीमा व्यापारी पीएम फणिन्द्र शर्माले दिएको उजुरीमा यो एफआईआर दर्ता भएको थियो । उनले सेलिब्रेटी र प्रभावशाली व्यक्तिहरूले अवैध सट्टेबाजी एपको प्रचार गरिरहेको र यसले सार्वजनिक जुवा ऐन १८६७ को उल्लङ्घन गरेको आरोप लगाएका छन् । उजुरीमा भनिएको छ कि सेलिब्रेटीहरूलाई मानिसलाई यस्ता एपमा पैसा लगानी गर्न उक्साएबापत ठूलो रकम भुक्तानी गरिएको थियो ।

प्रहरीले यस उजुरीको आधारमा मार्च १९ मा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा भारतीय दण्ड संहिता (बीएनएस) र तेलंगाना गेमिङ ऐन २०१७ को उल्लङ्घन भएको उल्लेख छ । तेलंगाना गेमिङ ऐनले सबै प्रकारका अनलाइन सट्टेबाजीलाई प्रतिबन्धित गर्दछ । यता, आरोप लागेका केही कलाकारले भने आफ्नो बचाउ गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार अभिनेता विजय देवरकोंडाले आफूले प्रचार गरेको ‘ए२३ रम्मी’ एप अवैध सट्टेबाजी नभई एउटा सीपमा आधारित गेमिङ प्लेटफर्म भएको बताएका छन् । उनका टोलीले सर्वोच्च अदालतले पनि रम्मीलाई सीपको खेल मानेको दाबी गरेको छ ।

त्यसैगरी, अर्का अभिनेता राणा दग्गुबातीले आफूले गेमिङ एपसँग गरेको सम्झौता २०१७ मा नै समाप्त भएको र प्रमोशनहरू कानुनी रूपमा अनुमति पाएका स्थानहरूमा मात्र सीमित रहेको बताएका छन् । फिल्मका भिलेनको भूमिकाका लागि परिचित प्रकाश राजले पनि सन् २०१६ मा ‘जङ्गली रम्मी’ को प्रचार गरेको स्वीकारेका छन्, तर उनले त्यो समयमा कानुनी भए पनि आफ्नो नैतिकतासँग नमिल्ने महसुस गरेको बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार जंगली रम्मी, जीतविन र लोटस ३६५ जस्ता अनलाइन सट्टेबाजी प्लेटफर्मलाई थुप्रै सेलिब्रेटीहरूले प्रमोट गरिरहेको आरोप छ ।

कमेन्ट गर्नुहोस्