फिल्म । अभिनेत्री पुजा शर्मा आर्ट भन्दा पनि मसलेदार फिल्ममा रुचाइएकि छिन् । उनले अभिनय गर्ने फिल्म बलिउड शैलीका हुन्छन् , अर्थात त्यसलाई प्याकेज भनिन्छ । तर , उनले पछिल्लो समय समीक्षात्मक रुपमा चर्चा बटुलिरहेको फिल्म ‘आमा’ हेरिदिन आग्रह गरिन । आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिम निर्देशक सुदर्शन थापा र पल शाहसंगै फिल्म हेर्न पुगेकी अभिनेत्रीले मिडियामा प्रतिक्रिया दिदै आफु भावुक समेत बनेको बताइन । ‘म पहिलो पटक कुनै फिल्म हेरेपछि हात जोडेर भन्दैछु, यो फिल्म सबैले हेरिदिनुहोला,’ उनले भनिन् ।
पुजासंगै रहेका सुदर्शन र पलले पनि आफुहरु भावनात्मक भएको बताए । गत शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले बक्सअफिसमा ठूलो व्यापार गर्न नसके पनि हलमा दर्शकको चाप भने विस्तारै बढाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले घरेलु बजारबाटै लगानी उठाउनेमा निर्मात्री शर्मिला पाण्डे विश्वस्त छिन् । फिल्मले पाएको सकारात्मक प्रतिक्रियाका कारण हलमा दर्शकसँगै नेपाली फिल्मकर्मीहरुको पनि उपस्थिति बाक्लिन थालेको छ ।
निर्देशक खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।











