सौन्दर्य । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डको चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ । आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले ललितपुरको पुलचोकस्थित द प्लाजा होटलमा पत्रकार सम्मेलन आयोजना गरी मिसेस नेपाल वर्ल्ड २०२५ को आवेदन खुला भएको घोषणा गरेको हो ।
पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा र ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने आयोजकले जनाएका छन्। यस वर्षको प्रतियोगितामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) प्रमुख अतिथिका रूपमा र अभिनेत्री दिपिका प्रसाईं गुडविल एम्बेस्डरका रूपमा सहभागी भए । केदारले चौथो स्टेजको क्यान्सरसँग लडिरहेकी मिसेस नेपाल २०२३ सिता सुवेदीको उपचारका लागि ५१ हजार रुपियाँ सहयोग गर्ने घोषणा गर्दै अन्यलाई पनि सहयोग गर्न आह्वान गरे ।
उनले मिसेस नेपाल विवाहित महिलाहरूका लागि उत्कृष्ट अवसर भएको र प्रतियोगीले परिवारको समर्थनसहित विभिन्न सीपमा पोख्त हुनुपर्ने बताए । गुडविल एम्बेस्डर दिपिका प्रसाईंले मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता नभई महिलाहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्ने मञ्च भएको उल्लेख गरिन् ।
मिसेस नेपाल वर्ल्ड २०२४ डेनिला कार्कीले यो प्रतियोगिताले विवाहपछिका अवसरहरू खोज्ने महिलाहरूलाई सकारात्मक प्रभाव पार्ने बताइन् । त्यस्तै, मिसेस नेपाल इन्टरनेसनल २०२४ सुयशा राउत र एमएस नेपाल इन्टरनेसनल २०२४ रेश्मा घिमिरेले यो प्रतियोगिताले व्यक्तित्व विकास र सामाजिक सक्रियताका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने बताए ।
आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ । प्रतियोगिता अवधिभर व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास र सञ्चार सीपमा प्रशिक्षण प्रदान गरिनेछ । प्रतियोगिताको कोरियोग्राफी आश्विनीकान्त झा, नृत्य कोरियोग्राफी सन्दीप भुजेल र सहायक कोरियोग्राफी आइना गजुरेलले गर्नेछन् ।
समन्वयको जिम्मेवारी सम्राट शाह र गंगा महर्जनले लिनेछन् । मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको उपाधि पनि सोही मञ्चबाट घोषणा हुनेछ । विजेता मिसेस नेपाल वर्ल्डले सन् २०२५ मा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसअघि मिसेस नेपाल वर्ल्डको उपाधि २०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले जितेका थिए । पृथ्वीया थापाले मिसेस वर्ल्ड २०२३ मा ह्युम्यानिटेरियन अवार्ड जितेकी थिइन् ।











