‘सुख-दु:ख’ को तयारीमा जुटिन् नीता

फिल्म । अभिनेत्री नीता ढुङ्गाना आफ्नो डेब्यु निर्देशनमा तयार हुने फिल्म ‘सुख-दु:ख’ को तयारीमा जुटेकी छिन् । उनले फिल्म छायांकनका लागि भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित गरेकी हुन् । आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो ।

कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन् । शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्महरूमा छायांकन गरेका छन् । बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुबन्ध गरिएको हो ।

‘मलाई निर्देशकको रूपमा विश्वास गर्नु भएकोमा सबैलाई मनदेखि धन्यवाद । ‘सुख-दु:ख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ,’ निर्देशक ढुङ्गानाले भनिन्।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ । निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइएको छ ।

फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ । निर्देशक ढुङ्गानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन् । ‘नीता फिल्म्स’को व्यानरमा बन्न लागेको उक्त फिल्म आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ ।

कमेन्ट गर्नुहोस्