फिल्म । अक्षय कुमार, रितेश देशमुख, र अभिषेक बच्चन अभिनित फिल्म ‘हाउसफुल ५’ले रिलिजको २६औं दिनसम्म विश्वव्यापी बक्स अफिसमा ३०० करोडभन्दा बढी कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । भारतमा यो फिल्मले २०० करोडको कारोबार गरिसकेको निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालबाट समेत जानकारी दिएका छन् । २ सय ४० करोडको ठूलो बजेटमा बनेको यो फिल्मले लगानी उठाए पनि पूर्ण रूपमा व्यावसायिक सफलता हासिल गर्न बाँकी छ । फिल्मी विश्लेषकहरूका अनुसार, यो फिल्मले ३०० करोडको विश्वव्यापी कमाइ पार गरे पनि यसको दीर्घकालीन प्रदर्शन मिश्रित समीक्षा र नयाँ रिलिजहरूको प्रतिस्पर्धाका कारण कमजोर हुँदै गएको छ ।
अक्षय कुमारको यो फिल्म सन् २०१९ को ‘गुड न्यूज’ पछि विश्वव्यापी रूपमा ३०० करोड कमाउने पहिलो फिल्म हो । ‘गुड न्यूज’ले पनि ३ सय १६ करोड कमाएको थियो । त्यसयता अक्षयका १४ फिल्म रिलिज भए, तर कुनैले यो आँकडा पार गर्न सकेनन् । उनका पछिल्ला फिल्महरू ‘केसरी च्याप्टर २’ र ‘स्काई फोर्स’ औसत प्रदर्शनमा सीमित रहे ।
तरुण मानसुखानीद्वारा निर्देशित यो फिल्ममा अक्षय, रितेश, र अभिषेकसँगै ज्याकी श्रफ, नाना पाटेकर, संजय दत्त, ज्याकलिन फर्नान्डिस, नर्गिस फाख्री, सोनम बाजवा, र सौन्दर्या शर्मालगायतको स्टार कास्ट छ । क्रूजमा आधारित यो हास्य र रहस्यमय कथाले दर्शकलाई आकर्षित गरेको छ, तर मिश्रित समीक्षाका कारण यसको गति तेस्रो हप्तामा सुस्ताएको छ ।










