फिल्म । अनन्या फिल्म्सले आफ्नो नयाँ फिल्म ‘घोस्टेल’ को निर्माण घोषणा गरेको छ । बुधबार निर्माण कम्पनीले फिल्मको थीम पोस्टर सार्वजनिक गर्दै यो जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा ‘जब त्रासले हाँसो भेट्टाउँछ’ लेखिएको छ, जसले फिल्म हरर कमेडी जनरामा बन्ने सङ्केत गर्छ।
फिल्म सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, निर्माण टोलीले ‘कास्ट एण्ड क्रू’ बारे भने केही खुलाएको छैन । निर्माता सरोज न्यौपानेले मुख्य कलाकारहरू सार्वजनिक भएसँगै फिल्मको थप विवरण पनि खुलाउँदै जाने जानकारी दिएका छन् ।
यस फिल्ममा न्यौपानेसँगै सुयोग गुरुङले सहकार्य गरेका छन्। फिल्मको कथा पनि गुरुङले नै लेखेका हुन् । ‘जेरी अन टप’ का निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको छायाङ्कन सकिएलगत्तै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन् ।
निर्देशक सुनुवारले ‘घोस्टेल’ को निर्देशन गर्नेछन् । ‘षडङ्ग’ फेम्ड निर्देशक सुनुवारको पछिल्लो फिल्म ‘खजुरे ब्रो’ गत वर्ष प्रदर्शनमा आएको थियो । ‘घोस्टेल’ सुनुवारको तेस्रो निर्देशकीय फिल्म हुनेछ । निर्माण पक्षका अनुसार, ‘जेरी अन टप’ आगामी तिहारमा प्रदर्शनमा आएपछि ‘घोस्टेल’ को छायाङ्कन सुरु हुनेछ ।











