फिल्म । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने नेपाली फिल्म ‘परिवर्तन’को शुभ मुहूर्त सम्पन्न भएको छ । झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चना गर्दै फिल्मको शुभ मुहूर्त गरिएसँगै छायाङ्कन पनि प्रारम्भ भएको हो ।
विजय केरुङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन पूर्वी नेपालका विभिन्न रमणीय स्थलहरू झापा, विराटनगर र इलाममा करिब ४० दिनसम्म गरिनेछ । निर्माण पक्षले फिल्म यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ ।
मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिएका थिए । उक्त मुहूर्त सटको निर्देशन (एक्सन-कट) अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गर्नुभयो भने नेपाली काँग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले क्ल्याप बजाएका थिए । कार्यक्रममा कलाकारहरू सुशील, अञ्जना, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्कीका साथै निर्देशक विजय केरुङ, निर्माता दीपक सिवाकोटीलगायत सम्पूर्ण फिल्म युनिट, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यसले नेपालको सीमा सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो तथा गरिब र असहाय जनताले भोग्नुपरेको पीडादायी यथार्थलाई उजागर गर्ने बताइएको छ ।
यसका निर्माता दीपक सिवाकोटी स्वयंले यसको कथा लेखेका हुन् । फिल्ममा सुशील र अञ्जनाका साथै सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आयशा कार्की, गौतम तिवारी, यमनाथ खरेल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन् । यसमा शिव ढकालको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कमल राईको नृत्य निर्देशन रहनेछ ।
‘परिवर्तन’ शीर्षकमा यसअघि वि.सं. २०२८ सालमा पनि हिरासिंह खत्रीको निर्देशनमा फिल्म निर्माण भएको थियो । अब करिब पाँच दशकपछि पुनः यही नाममा एक सशक्त कथासहित नयाँ ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो ।










