फिल्म । बेलायतको लन्डनस्थित ग्रीनफोर्ड हलमा यही शनिबार नोभेम्बर १५ मा आयोजना हुन लागेको ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । इन्फा इभेन्ट्स यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको अवार्डलाई नेपाली फिल्म उद्योगका कलाकारहरूको महाउत्सवका रूपमा मनाइने आयोजकले जनाएका छन् ।
यसअघि नेपालमा भएको जेनजी पुस्ताको आन्दोलनका कारण कार्यक्रमलाई गत १३ सेप्टेम्बरमा स्थगित गरिएको थियो । आयोजकका अनुसार, अवार्ड कार्यक्रममा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरूको उपस्थिति रहनेछ ।
समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दिया मास्के र फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्बापो सुब्बा लगायतका चर्चित कलाकार सहभागी हुनेछन् ।
कार्यक्रममा जीतु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र सिता देवी तिमिल्सेनाले कमेडी प्रस्तुति दिनेछन् । त्यस्तै, कविता नेपाली, तेरिया मगर, समर्पण लामा, एलिशा शर्मा र ऊषा उप्रेती लगायत कलाकारहरूले नृत्य प्रस्तुति दिने तयारी गरिएको छ ।
यो अवार्डको मुख्य उद्देश्य नेपाली फिल्म क्षेत्रको योगदान र प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा सम्मानित गर्नु, साथै फिल्मको विकास, प्रवर्द्धन र विश्वव्यापी पहिचानमा योगदान पुर्याउनु रहेको आयोजकले बताएका छन् । आयोजकहरूका अनुसार, ‘इन्फा अवार्ड २०२५’ लाई ‘नेपालकै सबैभन्दा प्रतिष्ठित, गर्विलो र उत्कृष्ट अवार्ड शो’ का रूपमा प्रस्तुत गरिनेछ ।










