फिल्म । चर्चित भारतीय फिल्म ‘हेराफेरी’ को तेस्रो सिक्वेल ‘हेराफेरी ३’ बन्ने खबरले दर्शक उत्साहित थिए । तर, फिल्मका मुख्य पात्र ‘बाबु भैया’ को भूमिकामा रहेका अभिनेता परेश रावलले फिल्मबाट बाहिरिने निर्णय गरेपछि प्रशंसक निराश भएका छन् । दर्शकहरूले सामाजिक सञ्जालमा ‘बाबु भैया’ बिना सिक्वेल अधुरो हुने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।
परेशको यो निर्णयले निर्माण पक्षलाई अन्योलमा पारेको छ । फिल्म बन्ने वा नबन्ने भन्ने अनिश्चितता बढेको छ । परेशले ‘द लल्लनटप’ सँगको कुराकानीमा आफ्नो बहिर्गमनको कारण खुलाएका थिए । उनका अनुसार, ‘हेराफेरी’ रिलिज भएदेखि नै उनलाई ‘बाबु भैया’ जस्तै पात्रका लागि मात्र प्रस्ताव आइरहेका छन् । उनलाई यो पात्रसँग जोडिएका प्रश्न र प्रस्तावहरूले असहज बनाएको छ । उनले भने, ‘मलाई योबाट मुक्ति चाहिएको छ ।’
यसैबीच, परेशको बहिर्गमनलाई लिएर कानुनी झमेला पनि सतहमा आएको छ । फिल्मका निर्माता र सह-कलाकार अक्षय कुमारले उनलाई ‘लिगल नोटिस’ पठाएका थिए । परेशले ब्याजसहित ‘साइनिङ अमाउन्ट’ फिर्ता गरेर कानुनी विवाद टुंग्याएका छन् ।
‘हेराफेरी’ शृंखलाको पहिलो र दोस्रो भागले दर्शकको मन जितेका थिए । ‘बाबु भैया’ को हास्य र संवादले यो शृंखला बलिउडको आइकोनिक कमेडी फ्रेन्चाइज बनेको छ । तर, परेशको अनुपस्थितिमा ‘हेराफेरी ३’ ले उही जादु कायम राख्न सक्छ कि सक्दैन, यो प्रश्नले निर्माण पक्ष र दर्शक दुवैलाई पिरोलिरहेको छ ।










