फिल्म । गत शुक्रबार जेठ ९ गतेदेखि प्रदर्शनमा आएको महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार देशभर राम्रो ओपनिङ गरेको थियो भने तेस्रो दिन आइतबारदेखि पनि सुखद् व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।
चौथो दिन सोमबारदेखि फिल्मको निर्माण टिम मोफसल दौडाहामा निस्किएको छ । सोमबार पूर्वी नेपालका इटहरी, बिर्तामोड, दमक, बिराटनगर र धरानका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको टिम मङ्गलवार काठमाडौँ फर्किएको थियो । पूर्वी नेपालमा दर्शकबाट न्यानो स्वागत र उल्लेख्य साथ पाएको निर्माण पक्षका नरेन्द्र महर्जनले बताए । दर्शकले हलमा महानायक हमालसँग सेल्फी खिच्न तछाडमछाड गरेको उनले जानकारी दिए ।
करिब १० वर्षपछि महानायक राजेश हमाल दर्शकसँग साक्षात्कारका लागि मोफसल यात्रामा निस्केका हुन् । उनको त्यही क्रेजलाई ध्यानमा राख्दै फिल्मको टिम आज बुधबार पश्चिम नेपालको यात्रामा निस्किएको छ । निर्देशक दीवाकर भट्टराईका अनुसार, टिमले आज नेपालगञ्ज र धनगढीका दर्शकसँग भेटघाट गर्नेछ । त्यसपछि दाङ, बुटवल, नारायणगढ हुँदै काठमाडौँ फर्किने तयारी छ । पश्चिम नेपालका दर्शकबाट पनि न्यानो स्वागत र उच्च साथ पाउने निर्माण टिमको अपेक्षा छ ।
महानायक हमाल कुनै तडकभडकबिना नै मोफसल यात्रामा निस्केका छन् । अन्य कलाकार बडीगार्डसहित हल पुग्ने गरेकोमा हमाल भने सामान्य रूपमा दर्शकमाझ पुगेर मन जितिरहेका छन् । उनको यो सादगीपनको चौतर्फी प्रशंसा भइरहेको छ ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको यो फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीव जङ्ग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारको अभिनय छ । राजु विक्रम थापाको छायाङ्कन र साहिल खानको सम्पादन रहेको छ ।












