फिल्म । बलिउड निर्देशक इम्तियाज अलीले नेपाली फिल्मलाई सफलताको संदेश पठाएका छन् । आउँदो भदौ ३ गते प्रदर्शनमा आउने फिल्म ‘माईकल अधिकारी’ लाई उनले भिडियो संदेश पठाउदै शुभकामना दिएका हुन् । फिल्म निर्देशक रञ्जित रौनियार भारतीय निर्देशक हुन् । उनका मिल्ने साथी इम्तियाजले नेपाली फिल्मलाई हेरिदिन भन्दै प्रचारमा उत्रिएर सघाएका छन् । सावधान इन्डिया र क्राइम प्याट्रल समेत निर्देशन गरेका रौनियार यतिबेला मुम्बईमा छन् ।
‘हेल्लो नेपाल म इम्तियाज । भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म माईकल अधिकारी हेर्नु होला , शुभकामना । निर्देशक रञ्जित र गोपीकृष्णलाई शुभकामना’ उनले भिडियो संदेशमा भनेका छन् । लभ आजकल , जब वी मेट , रकस्टार , हाइवे जस्ता फिल्म निर्देशन गरेका इम्तियाजको शुभकामनाले फिल्म युनिट दंग छ । फिल्म वितरणको दायित्व लिएको जीजीए ग्रुपका करण श्रेष्ठले बलिउडका प्रसिद्ध निर्देशकले नेपाली फिल्मलाई शुभकामनाको संदेश दिनु खुसीको कुरा रहेको बताए ।
‘नेपाली फिल्मलाई इम्तियाज जत्तिको निर्देशकले शुभकामना दिनुले हामीलाई झनै उत्साहित बनाएको छ । पारिवारिक कमेडी फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त छौँ । फिल्म प्रदर्शन राम्रोसँग गर्न मसँगै हाम्रो जीजीए ग्रुप तत्पर छौँ’ करणले भने । पछिल्लो समय बलिउड र दक्षिण भारतीय फिल्मका कलाकारले प्रदर्शन छेकोमा दर्शकलाई भिडियो सन्देशमार्फत फिल्म हेर्न आग्रह गरिरहेको सन्दर्भमा यसपटक भने प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘माइकल अधिकारी’ हेर्न बलिउडकर्मीले आग्रह गरेका हुन्।
सौगात मल्ल र सृष्टी श्रेष्ठ अभिनित फिल्म ‘माईकल अधिकारी’ मा आर्थिक समस्याका कारण अर्काको भ्रूण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथा छ । उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ ।
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । फिल्मलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो ।










