फिल्म । दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गर्ने फिल्म प्राय दर्शकको पर्खाइमा पर्ने गरेको छ । यो जोडीले निर्माणमा डेब्यु गरेको फिल्म ‘६ एकान ६’ बाट बनाएको विश्वासलाई घट्न दिएका छैनन् , बरु बढ्दो छ । यसैले गर्दा पनि यो समुहको फिल्मलाई प्रतिक्षा गरेर स्वदेश तथा विदेशमा दर्शक बस्ने गर्छन् ।
यसैले गर्दा यो समुहले निर्माण गरेको पछिल्लो फिल्म ‘छमाया छपक्कै’ को ओभरसिज राइट्स महँगोमा विक्री भएको छ । गीत बाँकी राख्दै पोष्ट प्रोडक्सनमाजुटेको फिल्मको ओभरसिज राइट्स निशान बजगाँइले खरिद गरेका छन् । उनले यो फिल्मलाई १ करोड १५ लाखको हारहारीमा मुल्य तिरेका छन् ।
‘मैले यसको ब्रान्ड भ्यालु र कलाकारको भ्यालु हेरेर अहिलेसम्मकै धेरै रकम तिरेको छु । १ करोड १५ देखि १ करोड २० लाखको विचमा मुल्य तिरेर मैले ओभरसिज राइट्स किनेको हुँ ।’ उनले अब, विदेशमा यो चलचित्र रिलिज गर्न चाहनेले आफूसँग सम्पर्क गर्न सक्ने बताए । उनि यो टिमसंग जोडिएर फिल्म निर्माण समेत गर्दै आएका छन् ।
दिपेन्द्र लामा निर्देशित फिल्म आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । यसमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाई आउँदो दशैंमा रिलिज गर्ने निर्माता रोहित अधिकारीले जानकारी दिए ।
फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो/अर्धबैशे पुरुष बीचको प्रेमकथा वाचन गर्नेछ । फिल्ममा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व , दीपक शर्माको संगीत , कविराज गहतराजको कोरियोग्राफी , विपिन मल्लको सम्पादन रहेको छ ।निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।












