फिल्म । झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुरु हुने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छायांकन बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने जानकारी दिएकी हुन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्।
झरनाले बडीमालिकालाई नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, संस्कृति र पर्यटनको महत्त्वपूर्ण धरोहरका रूपमा उल्लेख गर्दै त्यहाँबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा गौरवान्वित भएको बताएकी छन्। नेपाली प्रकृति, संस्कृति र भावनालाई व्यापक रूपमा दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले ‘ए मेरो हजुर ५’ निर्माण गर्न लागेको उनको भनाइ छ।
झरनाकै निर्देशनमा बन्ने फिल्ममा सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा छन्। अन्य कलाकारको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्।
‘ए मेरो हजुर ५’ मार्फत सुहाना र अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा पनि सँगै अभिनय गरेका थिए। ‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका थिए। पहिलो फिल्म स्वर्गीय शिव रेग्मीले निर्देशन गरेका थिए भने दोस्रो शृंखलादेखि झरना थापाले निर्देशन सम्हाल्दै आएकी छन्।










