पूर्वीय भूभागमा ‘जन्ते बाख्रो’को प्रचारप्रसार तीव्र

फिल्म । आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जन्ते बाख्रो’को निर्माण पक्षले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ। निर्माता सन्तोष गौतमले पूर्वी नेपालबाट सुरु गरिएको प्रचार अभियानलाई देशव्यापी बनाउने लक्ष्य राखेका छन्। गौतमले झापाको विर्तामोडलगायत पूर्वी नेपालका विभिन्न स्थानमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरेको जानकारी दिए ।

‘हामीले उत्कृष्ट फिल्म निर्माण गरेका छौँ र यसको जानकारी दर्शकमाझ पुर्‍याउन निरन्तर प्रयास गरिरहेका छौँ । विर्तामोड र झापाका मुख्य चोक तथा बजारमा फिल्मका पोस्टर र प्रचार सामग्री राखिसकेका छौँ । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’को चर्चा फैलाउनु हो’, गौतमले भने ।

फिल्मको प्रचारका क्रममा सार्वजनिक तीन गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, र ‘मुकु मुकु म्या’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेका छन् । निर्माता गौतमका अनुसार, फिल्मको ट्रेलर हलहरूमा प्रदर्शन भइसकेको छ र सोमबारदेखि इन्टरनेटमा उपलब्ध हुनेछ । गीतसङ्गीत र ट्रेलर डिजिटल पार्टनर जी टु वान डिजिटलमार्फत हेर्न सकिनेछ ।

‘दर्शकको बाक्लो उपस्थिति हुने स्थानहरूमा ‘जन्ते बाख्रो’को जानकारी पुर्‍याएका छौँ, जसले फिल्मको व्यापक प्रचार हुनेमा हामी विश्वस्त छौँ’, गौतमले भने । सिमोश सुनुवारद्वारा निर्देशित यो फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक सुनुवारका अनुसार, फिल्म विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्