सेलेब्स रिभ्यू : ‘फेरि रेशम फिलिली मनोरञ्जकसँगै संदेशमुलक’

फिल्म । फागुन १४ देखि सार्वजनिक प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ रिलिजको पूर्वसन्ध्यामा ललितपुरस्थित लाविम मलमा प्रिमियर गरिएको छ । फिल्म हेर्न पुगेका कलाकर्मीले यसको विषयवस्तु र प्रस्तुतीकरणको खुलेर प्रसंशा गरेका छन् । पछिल्लो समय युवामा बढ्दो विदेश मोहलाई व्यंग्य गरेको फिल्मले भरपुर मनोरञ्जनसँगै संदेश दिने उपस्थित सेलेब्सले रिभ्यू दिएका छन् ।

फिल्म गरेर निस्किएपछि अभिनेत्री ऋचा शर्माले दर्शकको समय र पैसाको सदुपयोग गर्ने फिल्म बनेको प्रतिक्रिया दिईन् । उनले एक शब्दमा ‘पैसा वसुल’ फिल्म बनेको रिभ्यू दिईन् । ‘पारिवारिक मनोरञ्जक फिल्म बनेको छ । धेरैपछि खुलेर हाँसे र मज्जा आयो । कलाकारको अभिनय र निर्देशकको काम तारिफ गर्नै पर्ने छ । यसको ट्रेलर भन्दा फिल्म निकै राम्रो लाग्यो’, उनले भनिन् ।

निर्माता तथा निर्देशक अशोक शर्माले फिल्मले दिएको संदेशलाई प्राय नेपालीले महसुस गर्ने बताए । मनोरञ्जन र संदेशलाई मिसाएर प्रस्तुत गर्नसकेकोमा उनले निर्देशकलाई बधाई दिए । अभिनेत्री शिल्पा मास्केले कमेडी र त्यसको टाईमिङलाई प्रसंशा गरिन् ।

उनले भनिन्,‘सबैले गरेको कामलाई तारिफ नगरी रहन सकिन्न । मैले निकै इन्जोय गरें, हलसम्म आइपुग्ने दर्शकलाई फिल्मले निराश बनाउदैन । साथै, सम्पूर्ण परिवार एकसाथ हेर्न सकिने र मिल्ने फिल्म बनेको छ ।’

अभिनेत्री सुपुष्पा भट्टले प्राप्त प्रतिक्रियाले आफूसहित टिमलाई उत्साहित बनाएको बताइन । आफ्नो काम आफैँले मुल्यांकन गर्न नसके भएकाले पहिलो दर्शक बनेका फिल्मकर्मीको प्रतिक्रिया आफूसहित टिमका लागि प्रेरणादायी रहेको उनले बताइन । फिल्ममा ‘रेशम’ को भूमिकामा रहेका विनय श्रेष्ठले प्राप्त प्रतिक्रियाले आफू भावुक बनेको बताए ।

‘यो यात्रा तय गर्न केही वर्ष लागेको छ । कथा, त्यसमा सुहाउँदो पात्र, फिल्ममा चाहिने मनोरञ्जन र संदेशलाई मिश्रण गरेर पटकथा तयार गर्न निकै मेहनत गरेका थियौँ । पर्दामा ती काम देख्दा र हामीले अनुमान गरेको ठाउँमा दर्शक कनेक्ट हुँदा भावुक भएँ । अब दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छौँ’, अभिनेता श्रेष्ठले भने ।

करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक फिल्मले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेल सम्पादन गरेका छन् ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको फिल्मका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन्।

कमेन्ट गर्नुहोस्