डान्सिङ नम्बर लिएर आए दिनेश

संगीत । वर्षौँदेखि सेन्टिमेन्टल गीत मार्फत दर्शकको मन जित्दै आएका गायक दिनेश गौतमले फरक शैलीको साँगितिक प्रस्तुतीका साथ आएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गत शुक्रबार उनले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोग भिडियोको बलियो पक्ष बनेको छ । संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायन देखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा यस म्युजिक भिडियोलाई लिन सकिने बताए । नेपालको पहिलो सेक्सोफोन वादक शुभ बहादुर सुनामले दिनेशको संगीत साधना र गायकीको प्रशंसा गरे ।

करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ बिलकुलै भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए । २०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा सांगितिक एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् । दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् ।

‘पैसा कसले बनायो’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु’ गीत सार्वजनिक भएको थियो । कोशिस क्षेत्रीको शब्द संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । म्युजिक भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’ देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै गीतले उत्साहपूर्ण दर्शक बटुल्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्