अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधना सम्मान दिईने

सङ्गीत । नेपाली भाषा, साहित्य, संगीत, कला तथा सामाजिक सेवामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । हिमालयन इन्टरनेशनल अवार्डको छैटौँ संस्करणमा गीत–संगीत, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिइन् ।

संयोजक अधिकारीका अनुसार वान्तु र ढुंगेलले दशकौँदेखि नेपाली भाषा, साहित्य, गीत-संगीत तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनीहरूलाई यस वर्षको दीर्घसाधना सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

सिक्किममा जन्मिएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय, गीत-संगीत तथा सामाजिक सेवामा सक्रिय व्यक्तित्व हुन् । सरकारी सेवाबाट अवकाशपछि पनि उनी साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर सक्रिय छन् । उनका ‘हिमशिखा’, ‘मेरो जिन्दगी’, ‘अमृत वर्षा’, ‘यात्रा अमेरिकाको’ र ‘हिमालदेखि सागरसम्म’ लगायतका कृति प्रकाशित छन् । गीतकारका रूपमा पनि उनले सिर्जना गरेका ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेँ’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् ।

यस्तै, भोजपुरमा जन्मिएका अमर वान्तु नेपाली गीत-साहित्यका स्थापित स्रष्टा हुन्। वि.सं. २०४५ मा काठमाडौं आएपछि उनले नेपाली सांगीतिक क्षेत्रमा १५० भन्दा बढी गीत रचना गरिसकेका छन् । उनका ‘परिभाषाका राँटाहरू’ कृतिका साथै ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम प्रकाशित छन्। ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’ लगायत उनका धेरै गीत लोकप्रिय छन्। उनका केही गीत करोडौँ क्लबमा समेत पुगेका छन्।

आयोजकका अनुसार अमर वान्तु र हरि ढुंगेलको सम्मानले दुई स्रष्टाको योगदानको मात्रै कदर नगरी नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिप्रतिको दीर्घकालीन समर्पणलाई पनि सम्मान गर्नेछ। यसअघि यो सम्मान संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका चन्द्रकला शाह, ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजाले प्राप्त गरिसकेका छन्।

अवार्ड समारोहमा नेपाली गीत-संगीतकर्मी, कला पत्रकार तथा बालप्रतिभालाई पनि विभिन्न विधामा सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिएका छन्। ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अवार्डको छैटौँ संस्करण साउन ३ गते (जुलाई १९) भारतको सिक्किमस्थित राभङलामा आयोजना हुनेछ। आयोजकका अनुसार यस अवार्डले नेपाल र भारतका नेपालीभाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखेको छ।

कमेन्ट गर्नुहोस्