‘फरक भूमिकामा पाएँ र अभिनय गरेँ’

फिल्म । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि ठूलो पर्दामा देखिने भएकी हुन् । उनले ‘बोक्सीको घर’पछि हालम्म कुनै पनि फिल्ममा देखिएकी छैनन् । ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनयसँगै उनी निर्मात्री पनि थिइन् । एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छन् । एक वर्षपछि आफूले चाहे अनुसारको काम गर्न पाएको केकीले बताइन् ।

‘के घर के डेरा : घर नं २’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो । केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि सिनेमामा सहकार्य गरेका थिएनन् ।

‘उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन । फेरी मलाई बोक्सीको घर जस्तै फिल्मको अफर आइरहेको थियो । म आफैँ फरक भूमिकाको खोजीमा थिएँ, यसमा पाएँ’, केकीले भनिन् ।

उनले मौलिक र आम नेपालीको कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताइन् । घर हुने र बनाउन चाहनेहरूको कथा फिल्ममा रहेका उनको भनाइ छ । ‘के घर के डेरा : घर नं २’को सबैभन्दा बलियो पक्ष यसको स्क्रिप्ट निर्देशन रहेको उनले बताईन । कथा, निर्देशन, अनुभवी कलाकार र कामप्रतिको डेडिकेसनले सिनेमा राम्रो बनेको उनको विश्वास छ ।

फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । फिल्ममा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

कमेन्ट गर्नुहोस्