फिल्म । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा : घर नं २’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकका लागि उपयुक्त ठहर गर्दै युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।
साहित्यकार बुद्धिसागरको कथामा आधारित यसले नेपाली समाजमा घर र डेराबीचको संवेदनशील सम्बन्धलाई चित्रण गरेको छ । जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् । युवराज कार्की कार्यकारी निर्माता रहेका यस फिल्ममा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेका छन् ।











