फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ले दर्शकहरुबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । प्रदर्शनको तेस्रो दिन आइतबारसम्म आइपुग्दा यसले दैनिक ३ सयभन्दा बढी शो पाइरहेकोमा माग बढ्दै गएपछि शो सङ्ख्या थप गरिएको छ । चौथो दिन सोमबारका लागि थपिएका शोहरुले फिल्मको व्यापारलाई अझ आक्रामक बनाउने अनुमान निर्माण पक्षले गरेको छ ।
यसैबीच, फिल्मको ट्रेलरले रिलिजको तेस्रो दिन आइतबार युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ । ट्रेलरले हालसम्म ११ लाखभन्दा बढी भ्युज, ३० हजार लाइक्स र २ हजारभन्दा बढी सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको छ ।
विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल जस्ता कलाकारहरुको अभिनय रहेको यस फिल्मले प्रदर्शनको दिनदेखि नै दर्शकको मन जितिरहेको छ । यसको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।
आइतबार नै सार्वजनिक गरिएको फिल्मको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले पनि सकारात्मक चर्चा बटुलिरहेको छ । यो गीत सदाबहार नायक दिलीप रायमाझी र नायिका निरुता सिंहप्रति समर्पित गरिएको हो । सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको उक्त गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय देख्न सकिन्छ ।











