फिल्म । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वव्यापी वितरणको लागि सम्झौता गरेको हलिउड फिल्म ‘टासी’ को छायांकन नेपालका विभिन्न रमणीय स्थानहरूमा सुरु भएको छ । आइतबार यो फिल्मको छायांकन ललितपुरको पाटन दरबार क्षेत्रमा गरिएको छ । स्रोतका अनुसार, फिल्मको युनिटले केही दिनदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा छायांकन गरिरहेको छ । अबको तयारी सिन्धुपाल्चोक र सोलुखुम्बुको खुम्जुङमा छायांकन गर्ने रहेको छ । सार्वजनिक भएको एक तस्वीरमा हलिउडका प्रख्यात अभिनेता विलियम डफोई एक बौद्ध स्तुपमा नेपाली प्रशंसकसँग भेटिँदै गरेको देखिन्छ ।
यसका साथै, फिल्म युनिटले मुस्ताङको जोमसोम र तनहुँको बन्दीपुरमा पनि छायांकनको लागि तयारी गरिरहेको छ । झन्डै साढे दुई महिनाको प्रतीक्षापछि गत साता मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो फिल्मलाई नेपालमा छायांकन गर्न अनुमति प्रदान गरेको थियो । मन्त्रालयबाट ‘टासी’ नाममा अनुमति लिए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस फिल्मको छायांकनलाई ‘तेन्जिङ’ शीर्षकमा उल्लेख गरेका छन् ।
अभिनेता विलियम डफोई र टम हिडल्स्टनको मुख्य भूमिका रहने यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको प्रेरणादायक कथालाई पर्दामा उतार्नेछ । यसको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’ को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको छ ।
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए, जसको नेतृत्व तेन्जिङले गरेका थिए । फिल्ममा टम हिडल्स्टनले हिलारीको भूमिका निर्वाह गर्नेछन् भने विलियम डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिकामा देखिनेछन्। झन्डै एक महिनासम्म नेपालमा छायांकन हुने यो फिल्मको निर्देशन ‘शेर्पा’ र ‘माउण्टेन’ जस्ता प्रशंसित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले गरिरहेकी छिन् । नेपालको प्राकृतिक सौन्दर्य र तेन्जिङको ऐतिहासिक कथालाई हलिउडको पर्दामा हेर्न दर्शकहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।










