‘कर्णालीवासीले जलवायु परिवर्तनको क्षतिपूर्ति माग्नुपर्छ’

फिल्म । ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ अन्तर्गत आयोजित ‘रारा फिल्म, पर्यटन तथा जलवायु समिट’ मुगुको ऐतिहासिक रारा तालको मुहानमा भव्यताका साथ सम्पन्न भएको छ । फिल्म, पर्यटन र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर समिटमा गहन छलफल तथा बहसहरू भएका थिए ।

उक्त समारोहमा मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा बोकेको यो महोत्सव नेपाली फिल्मको प्रवर्द्धनका साथसाथै कर्णाली क्षेत्रको पर्यटन र जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो । फिल्म, पर्यटन र जलवायु विषयमा केन्द्रित दुईवटा सत्रमा सम्पन्न भएको समिटमा कर्णालीको स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र फिल्मको माध्यमबाट अन्तर्राष्ट्रियबजारमा यस क्षेत्रको प्रतिनिधित्व गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

महोत्सवका सद्भावनादूत अभिनेता प्रदीप खड्काले रारा क्षेत्र छायाङ्कनका लागि विश्वकै उत्कृष्ट स्टुडियो बन्न सक्ने सम्भावना औँल्याए । उनले ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै कर्णाली, विशेषगरी राराको पर्यटन प्रवर्द्धनमा फिल्मको महत्त्वपूर्ण भूमिका रहने बताए । फिल्म पर्यटन प्रवर्द्धन र भाषा, रीतिरिवाजको संरक्षणमा एक शक्तिशाली माध्यम भएको उनको धारणा थियो ।

अभिनेता खड्काले जलवायु परिवर्तनको गम्भीर मुद्दामाथि प्रकाश पार्दै यसको असर कर्णाली लगायत सिंगो नेपालले भोगिरहेको क्षतिप्रति आवाज उठाउनुपर्ने बताए । हिमाल पग्लने क्रम बढ्दो, पानी र खाद्यान्न संकट जस्ता समस्याहरूलाई मध्यनजर गर्दै उनले जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र यस विरुद्ध अभियान चलाउनुपर्नेमा जोड दिए । साथै, उनले आफ्नो नयाँ फिल्म ‘छब्बीस करोड’ को छायाङ्कन पनि चाँडै कर्णालीमा गर्ने योजना रहेको जानकारी दिए ।

महोत्सवको सहआयोजक चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णालीमा भएको महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले फिल्म क्षेत्रमा नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ-गाउँसम्म फिल्म प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले बोर्डले बलिउडका प्रभावशाली व्यक्तिहरूलाई रारामा ल्याएर फिल्म गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए । रारा लगायत कर्णालीका विभिन्न भागहरूलाई खुला स्टुडियोको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको उनले बताए ।

निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको अनुपम सौन्दर्य देखेर आफू मोहित भएको बताउँदै भविष्यमा कर्णालीका कथालाई फिल्मको पर्दामा उतार्ने प्रतिबद्धता व्यक्त गरिन् । रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेमगीत २’ पछि राराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय वृद्धि भएको भन्दै यस्ता गतिविधिहरूलाई नीति बनाएर निरन्तरता दिने बताए । नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र फिल्म प्रवर्द्धनलाई सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यसअघि सुर्खेत र दैलेखमा सफलतापूर्वक सम्पन्न भइसकेको यो महोत्सवको अवार्ड समारोह भने काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले फिल्मको माध्यमबाट पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, फिल्मकर्मीहरूलाई कर्णालीमा आकर्षित गर्ने तथा यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ ।

कमेन्ट गर्नुहोस्