फिल्म । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘लालीबजार’ मा दुई चर्चित अभिनेत्री अनुबन्धित भएको चर्चा चलेको छ । निर्माण पक्षले अहिलेसम्म आधिकारिक रूपमा कलाकारहरूको घोषणा नगरे पनि फिल्मका लागि केकी अधिकारी र स्वस्तिमा खड्कासँग कुराकानी अगाडी बढाई रहेको छ ।
प्राप्त जानकारी अनुसार, दुवै कलाकारको लुक्स टेस्ट पनि भइसकेको छ । नेपाली फिल्म बजारमा केकी र स्वस्तिमा दुवैको राम्रो क्रेज छ । केकीले भर्खरै मात्र फिल्म ‘झिंगेदाउ २’ पनि साइन गरेकी छिन् ।
फिल्मको छायांकन दसैँलगत्तै सुरु गर्ने योजना निर्माण पक्षको छ । यस फिल्मलाई यम थापाले लेखन तथा निर्देशन गर्दैछन् । हाल यसको स्क्रीप्टको काम रफ्तारमा भइरहेको छ । रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले फिल्मको निर्माण गर्नेछन् भने प्रदीप भट्टराई कार्यकारी निर्माताको रूपमा रहनेछन् ।
निर्माण पक्षले केही समयअगाडि सार्वजनिक गरेको थिम पोस्टरमा रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको थियो, जसले फिल्मको विषयवस्तुबारे उत्सुकता जगाएको छ ।












