फिल्म । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो गीत सार्वजनिक भएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको यो गीतले नेपालको गौरवमय इतिहासदेखि वर्तमानसम्मको झलक दिँदै राष्ट्रिय एकता र आपसी भाइचाराको भावनालाई मुखरित गरेको छ । गीतमा अनिश अधिकारीको सुमधुर आवाज, शब्द रचना र संगीत रहेको छ ।
प्रमोद भण्डारीको आकर्षक कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, विजिता बर्देवा र देवराज राजबंशी लगायतलाई परम्परागत पूजाको रमणीय परिवेशमा प्रस्तुत गरिएको छ । यसअघि फिल्मको ‘तिम्रो आँखै रसिलो’ बोलको पहिलो गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय भइसकेको छ ।
नर प्रधान (मित्र) द्वारा लिखित तथा निर्देशित यो फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा र अनिश अधिकारी जस्ता कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ । पद्मा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्मका प्रस्तुतकर्ता मित्र प्रधान हुन् भने यसलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
फिल्ममा शिवम् अधिकारीको लेखन, दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । निर्माण पक्षका अनुसार यो फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, यसको ऐतिहासिक महत्त्व र राष्ट्रिय एकताको भावनालाई उजागर गर्नेछ । फिल्मको छायांकन नेपालको झापा र इलामका साथै भारतको सिक्किम र दार्जिलिङ जस्ता रमणीय स्थानहरूमा गरिएको छ ।












