फिल्म । नेपाली महिला राष्ट्रिय फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ । गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ ।
गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले खेलकुदको सुरुआत हुँदा यो गीत गुञ्जिने विश्वास व्यक्त गरे । ‘यो नेपालको लागि ‘स्पोर्ट्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोर्ट्स एन्थम’को लागि पहल गर्नुपर्छ’, निर्देशक चाम्सले भने ।
गत फागुन २९ गतेदेखि प्रदर्शन भएको फिल्मले चौथो सातामा सफलताका साथ प्रदर्शन भइरहेको छ । फिल्ममा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।











