दर्शकले रुचाए ‘वसन्त’

फिल्म । गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले फिल्मको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए ।

‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा दर्शकसँग फिल्म कनेक्ट भइरहेको छ । विषयबस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ’, प्रकाश भन्छन्,‘दर्शकसँग फिल्म कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी राम्रो भइरहेको छ ।’

अपेक्षित ओप्निङ गर्न नसकेता पनि फिल्म हेर्न आएका दर्शकले तारिफ गरेका छन् । दर्शकले फिल्मको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले राजनीतिक विषय उठान गरेको छ, कुनै पार्टीलाई सपोर्ट गरेको हो कि भन्ने कुरा आइरहेको छ,’ फिल्म हेरेपछि एक दर्शकले भने, ‘राजनीतिक विषय छैन । सामाजिक कथावस्तु छ । शंका गर्ने ठाउँ छैन । ढुक्कले हेर्न आए हुन्छ ।’

सामाजिक कथावस्तु उठान गरेको फिल्म ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । फिल्ममा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भनेको छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

कमेन्ट गर्नुहोस्