फिल्म । नेपाली फिल्ममा ‘रणवीर’बाट अभिनय यात्राको प्रारम्भ गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन् । यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिँदैछिन् । सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन् । ‘बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्,‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ । यो क्यारेक्टरमा फेज र ग्राफ छ । कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ ।’
सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेसमा नै थियो । ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ । मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी भन्छिन् । फिल्मका सह-निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘यो फिल्ममा काम गर्छु भनेर पहिले नै योजना थिएन । स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ । वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा खुल्छिन् ।
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन् । ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ । यो फिल्ममा काम गरेपछि मैले केही बुझें । अहिले त महिलाहरुले आफ्नो स्ट्याण्ड लिनुभएको छ । उहाँहरु माथि पनि आइरहनुभएको छ’, उनी भन्छिन् ।
उनी मल्टिस्टार फिल्म ‘पिताम्बर’मा जोडिन पाउनु आफ्नो लागि भाग्यशाली ठान्छिन् । ‘आफ्नो पात्रमा गर्न सक्ने हो कि होइन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो । तर मल्टिस्टार फिल्ममा मैले यतिको स्पेस पाएँ भनेर आफूलाई भाग्यशाली ठानेकी थिएँ । यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ’, उनी भन्छिन्, ‘तर काममा प्रेसर चाहिँ हुँदो रहेछ । सबैको कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ । मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो । आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ ।’
सुपुष्पाको बुझाईमा राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । ‘महिला र पुरुष निर्देशक भन्दा पनि निर्देशक भनेको निर्देशक नै हो । राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । आफ्नो भिजन बुझेको र कस्तो फिल्म बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ । मलाई धेरै सजिलो भयो’, उनी भन्छिन् ।
सुपुष्पालाई एक्सन फिल्ममा काम गर्न मन रहेछ । ‘एक्सन फिल्ममा आफैले एक्सन गर्न मन छ । यो पहिलोदेखि कै इच्छा हो । त्यस्तो फिल्मको अफर आयो भनेर स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’, सुपुष्पा भन्छिन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।










