फिल्म । गत शिवरात्रिको अवसरमा बुधवारदेखि प्रदर्शनरत फिल्म ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक गरिएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ । कुमार कट्टेलको निर्देशन रहेको फिल्मको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।
यसका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले कथावस्तु झल्काएको छ । ‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताको रूपमा रहेका छन् ।












